काठमाडौं । अर्थतन्त्रको ऐनाको रुपमा हेरिँदै आएको धितोपत्र दोस्रो बजार सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यपछि निरन्तर घटेको छ । यस वर्षको बजेटमा सरकारले नयाँ कुनै नीतिलाई समावेश नगर्दा लगानीकर्ता केही निरास बनेको देखिन्छ ।
गत साताको अन्तिम कारोबार दिन २ हजार १३१ दशमलव ४९ विन्दुमा बन्द भएको नेप्से यो साताको अन्तिम कारोबार दिन २ हजार ६९ दशमलव ५३ विन्दुमा आएर बन्द भएको छ । गत साताको तुलनामा यो साता नेप्से परिसूचक २ दशमलव ९१ प्रतिशतले घटेको हो ।
अंकका हिसाबमा भने यो साता ६१ दशमलव ९६ अंक तल झरेको छ । यो साता चार कारोबार दिनमा नेप्से परिसुचक तीन कारोबार दिन घटेको छ । साताको पहिलो कारोबार दिन २२ दशमलव १४ अंकले घटेको बजार दोस्रो दिन ३ दशमलव ८९ अंकले बढेको थियो । बजेट सार्वजनिकपछिको तेस्रो कारोबार दिन २३ दशमलव ८१ अंक घटेको बजार चौथो अर्थात् अन्तिम कारोबार दिन १९ दशमलव ८९ अंकले घटेर बन्द भएको छ ।
गत साता चार कारोबार दिन बजार खुला भएकोमा निरन्तर बढेर बन्द भएको थियो । बजेटप्रति आशावादी लगानीकर्ता निरास बनेको असर पछिल्लो कारोबार दिन देखिएको ब्रोकरको बुझाई छ । कतिपय लगानीकर्ताले नराम्रो नीति आउनुभन्दा केही नआउने राम्रो भएको भन्दै बजेटलाई सकारात्मक रूपमा लिएका छन् ।
कतिपयले भने लामो समयदेखि पूँजीगत लाभकरको दायरा घटाउने माग गर्दै आएकोमा सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् । आशा अनि निराशाकाबीच यो साता बजारबाट लगानीकर्ताले ९८ अर्ब २४ करोड रुपैयाँभन्दा बढी गुमाएको देखिन्छ । कुल पूँजीकरण घटेको आधारमा लगानीकर्ताले उल्लेखित मूल्य बराबरको सम्पत्ति गुमाएको देखिएको हो ।
गत साताको अन्तिम कारोबार दिन ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ कायम भएको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ८१ अर्ब ६६ करोड रुपैयाँ कायम भएको हो ।
यो साता ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ३ दशमलव २६ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३८२ दशमलव ६७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम कारोबार दिन ३७० दशमलव १९ विन्दुमा झरेको हो ।
गत साताभन्दा यो साता कारोबार रकम करीब ५ अर्ब र कारोबार कित्ता १ करोड ३२ लाखभन्दा बढीले घटेको छ । गत साता २१ अर्ब ९९ करोड ९२ लाख रुपैयाँभन्दा बढीको ५ करोड ४२ लाख ७२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १७ अर्ब १२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको ४ करोड ९ लाख ७७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
समान कारोबार दिनमा पनि गत साताभन्दा यो साता औसत कारोबार रकम १ अर्ब २१ करोड रुपैयाँभन्दा कम र कारोबार कित्ता ३३ लाख २३ हजारभन्दा कम भएको छ । नेप्सेका अनुसार गत साता ५ अर्ब ४९ करोड रूपैयाँभन्दा बढीको १ करोड ३५ लाख ६८ हजारभन्दा बढी कित्ता औसतमा धितोपत्र खरीदविक्री भएकोमा यो साता ४ अर्ब २८ करोड १९ लाख रुपैयाँभन्दा बढीको १ करोड २ लाख ४४ हजारभन्दा बढी कित्ता धितोपत्र औसतमा कारोबार भएको हो ।
उत्पादन तथा प्रशोधन समूहको परिसूचक करीब ४ प्रतिशत वृद्धि
यो साताको कारोबारमा समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा घटेपनि तीन समूहगत परिसूचक भने बढेका छन् ।
उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ दशमलव ८६ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूहको १ दशमलव ४० प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३७ प्रतिशत परिसूचक बढेको छ । परिसूचकमा वृद्धि हुँदा यी समूहका लगानीकर्तामा बजार घट्दाको असर भने परेको देखिँदैन ।
यो साता बैंकिङ समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहको परिसूचक ६ दशमलव १६ प्रतिशत घटेको हो । त्यस्तै लघुवित्तको ४ दशमलव ९६ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव २५ प्रतिशत, जीवन बीमाको २ दशमलव ८१ प्रतिशत, विकास बैंकको २ दशमलव ६२ प्रतिशत, अन्यको १ दशमलव ७७ प्रतिशत, लगानीको १ दशमलव ६३ प्रतिशत, जलविद्युतको १ प्रतिशत, व्यापारिकको शून्य दशमलव ६६ प्रतिशत र वित्त समूहको शून्य दशमलव ५१ प्रतिशत परिसूचकमा कमी आएको छ ।
यो साताको कारोबारमा घटेका समूहमध्ये वित्त समूहका लगानीकर्ताले कम गुमाएका छन् ।