काठमाण्डू: लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनको मागहरु अझै पूरा नभएको बताएका छन्। प्रतिपक्षी दलहरूको बैठकमा उनले यस्तो बताएका हुन्।
महासचिव डा. सुरेन्द्र झाका अनुसार, अध्यक्ष ठाकुरले, "तपाईं हामी सबै एकसाथ सङ्घर्ष गरेको , जेलनेल एकसाथ भोगेको तर तपाईंहरुको सबै माग पुरा भयो, सबै इच्छा पुरा भयो, हाम्रो खोइ?" ठाकुरले प्रश्न गरे। उनले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै यसले साना दलहरूलाई विभाजित गर्ने चेतावनी दिए।
उनले मधेस आन्दोलनका नेताहरू अझै पनि जेलमा रहेको र केही जनाले आजीवन जेल सजाय भोगिरहेको पनि बताए। यस बारेमा गम्भीर हुनुपर्ने आग्रह उनले गरेका छन्।
साथै, राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने विषयमा आफू सहमत नरहेको पनि उनले जानकारी दिए। उनले आफ्नो दल पटक-पटक विभाजन हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।