
धरान : सुनसरीको धरान उपमहानगरपालिका-१५ मा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। धरान सदन रोडका लालबहादुर राईका २१ वर्षीय छोरा रिजन राईको खुकुरी प्रहारबाट ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाका अनुसार रिजन आफ्ना साथीहरूसँग चिया खाइरहेको समयमा पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार भएको थियो।
गम्भीर घाइते रिजनलाई तत्काल उद्दार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि लगिएको थियो। डीएसपी तिमल्सिनाका अनुसार रिजनको टाउको, बायाँ कुम, बायाँ हातको हत्केला र कुहिना काटिएको अवस्थामा फेला परेको थियो। उपचारका क्रममा प्रतिष्ठानमा नै रिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान-८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र धरान-५ का २१ वर्षीय सुदिप तामाङ रहेका छन्।
प्रहरी निरीक्षक दिवस कुवरका अनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।