ओली र प्रचण्डसँग उपसभामुखको अडान : अरु थाहा छैन, बैठक प्रक्रियामा जान्छ

99 Shares

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदलाई बन्धक बनाउन नहुने भन्दै छिटो सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्धयसँगको भेटमा उपसभामुख तुम्बाहाम्फेलाई आफूलाई नै सभामुख बनाउन पनि प्रस्ताव गरेको स्रोतले बतायो । नेकपाभित्र पूर्व एमाले कि पूर्व माओवादीबाट सभामुख बनाउने भन्नेमा विवाद छ ।

प्रधानमन्त्री ओली पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा छन् । तर अर्का अध्यक्ष दाहाल भने पूर्व माओवादीबाटै सभामुख बनाउनुपर्ने अडानमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको बलमा उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दावी गर्दै आएकी छिन् ।

अध्यक्षद्धयसँगको भेटमा उपसभामुख तुम्बाहाम्फेले सभामुखको टुंगो नलगाए आफूले प्रतिनिधिसभाको कारवाही अघि बढाउने प्रस्ताव गरेकी थिइन् । सभामुखको टुंगो नलाग्दा पुस ४ बाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन सूचना टांसेर पटक पटक स्थगित हुँदैआएको छ ।

उपसभामुखले राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने प्रस्ताव गरेपछि अध्यक्षद्धयले पूर्व सभामुख नेम्वाङसँग टेलिफोनमार्फत राय लिएका थिए । तर जवाफमा नेम्वाङ्गले उपसभामुखले राजीनामा नदिइ सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउँदा सभामुख पद नेकपाले छोडेको सन्देश जाने सुझाव दिएको स्रोतले बतायो ।
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार नेकपाले उपसभामुखलाई कायमै राखेर सभामुखमा दावी गर्न नमिल्ने पक्षमा नेम्वाङ्ग छन् । सभामुख पनि नतोकिने र प्रक्रिया पनि अघि नबढ्ने देखेपछि उपसभामुख तुम्बाहाम्फेले शनिबारसम्म सभामुखको टुंगो लगाउन अध्यक्षद्धयलाई आग्रह गरेकी थिइन् । प्रतिनिधिसभा बैठक आइतबार बोलाइएको छ ।

‘मलाई अरु थाहा छैन, आइतबारको बैठक प्रक्रियामा जान्छ,’ उपसभामुख तुम्बाहाम्फेले अध्यक्षद्धयसँगको छलफलपछि सञ्चारकर्मीसँग भनिन् । तुम्बाहाम्फेले सभामुख निर्वाचनको एजेण्डा थांती राखेर अन्य विषयमा छलफल गर्न संसद सञ्चालन गर्ने मनस्थिती बनाएको स्रोतले बतायो । तर सत्तासीन नेकपाकै नेताहरु सभामुख चयनका लागि भन्दै झण्डै एक महिना स्थगित भएको बैठकमा मुख्य एजेण्डा थांती राखेर बैठक अघि बढन नसक्ने तर्क गर्छन् ।

सम्बन्धित समाचार