हरिवनमा नगरस्तरीय वडा कप फुटबल प्रतियोगीता सुरु

3.1k Shares

सर्लाहीको हरिवनमा आईतबारबाट सूरु भएको नगर स्तरीय वडा फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ११ विजयी भएको छ । हरिवन नगरपालिका–१०, सुखेपोखरीमा रहेको चतुर्भूजेश्वर जनता माविको खेल मैदानमा भएको खेलमा वडा नं. ८ लाई ०–१  गोल अन्तरले पराजित गर्दै वडा नं. ११ ले जीत हाँसिल गरेको हो । 
वडा नं. ११ को जीतका लागि राज ठोक्करले एक मात्र निर्णायक गोल गरेका छन् । ठोक्करलाई नै म्यान अफ दि म्याच घोषित गरिएको आयोजक न्यू हरिवन युवा क्लबका अध्यक्ष निरोज कार्कीले जानकारी दिनु भयो ।
खेलको क्लबका अध्यक्ष कार्कीको अध्यक्षता एवम हरिवन नगरपालिकाकी उप प्रमुख रेणुका पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको होे । कार्यक्रममा  वडाध्यक्षहरु शेख मेहबुब रेजा, शम्भु मैनाली, सिताराम पोखरेल लगायत जनप्रतिनिधिहरुका साथै स्थानिय राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दावा लामाले विभिन्न खेल सामग्री समेत सहयोग गर्नु भएको आयोजक क्लबले जनाएको छ । लामाले करिब रु ५० हजार बराबरको जाली, झण्डा, फुटबल लगायतका सामग्री प्रदान गर्नु भएको हो । 
सुखेपोखरी खेल मैदानमा हुने प्रथम अन्तर वडा फुटबल प्रतियोगितामा हरिवन नगरपालिकाभित्रका सबै वडाले सहभागिता जनाउने अध्यक्ष कार्कीले जानकारी दिनु भयो । आइतबारबाट सुरु भएको प्रतियोगिता पुस १२ गतेसम्म संचालन हुनेछ । भने सोमबार बिहान वडा नं. १० र वडा नं.४ तथा दिउँसो वडा नं. ५ र वडा नं. ९ बीच खेल हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार